जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १८:२८

यो सरकारको काम आधा खाली होइन, आधा भरी हो : प्रधानमन्त्री 


काठमाडौं, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र यस अघि गरेको सरकाको काम तुलना गरेर हेर्न चुनौती दिनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सांसदहरूले विगतको सरकार र आफू नेतृत्वको वर्तमान सरकारले गरेको कामलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो । ‘संघीय संसद्को रेकर्डमा रहेका कुराहरूलाई नै म यहाँ उल्लेख गर्न चाहन्छु– राष्ट्रियसभामा अघिल्लो सरकारको तर्फबाट १८ महिनाको अवधिमा ८ वटा विधेयक दर्ता भए, यो सरकार आएपछि १२ महिनाको अवधिमा ६ वटा विधेयक दर्ता भए, अघिल्लो सरकारको १८ महिनाको अवधिमा प्रतिनिधिसभामा २४ वटा विधेयक दर्ता भएकोमा यो सरकारको १२ महिनामा २५ वटा विधेयक दर्ता भए, संघीय सांसदबाट पारित कूल विधेयक मध्ये अघिल्लो सरकारको १८ महिनाको अवधिमा १४ वटा र यस सरकारको १२ महिनाको अवधिमा २३ वटा विधेयक पारित भएका छन्, तुलना यही हो, मुल्याङ्क यहाँहरूले नै गर्नु भए हुन्छ’, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन हुँदा निर्माण ठप्प भई अलपत्र रहेको, ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायणगढ–बुटवल पूर्वी सडक खण्ड स्तरोन्नतिको कार्य ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । आगामी वर्षसम्म सो सडक निर्माण सम्पन्न भइसक्ने ओली बताउनुभयो ।

त्यस्तै मुग्लिन–पोखरा सडक आकर्षक बनेको उहाँले जानकारी दिनुभयो । ‘यो, मैले भनिरहन पर्दैन, त्यहाँ यात्रा गर्ने जो कोहीले पनि भनिरहनु नै भएको छ, मुग्लिन नौबिसे खण्डको काम पनि धमाधम भइरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नागढुङ्गा–नौबिसे सुरुङ अबका केही समयभित्रै सञ्चालनमा आउने छ । प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेलको ब्रेक थ्रु भएको छ । समग्र निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ । देशका विभिन्न भागमा सुरुङमार्गका काम भइरहेका छन् ।

उपत्यकाभित्रका सडकमा ओभरपास र फ्लाइओभर सञ्चालनमा आएका उहाँले जानकारी दिनुभयो । ‘यसै अवधिमा ललितपुरको ग्वार्कोमा फ्लाइओभरको निर्माणकार्य सम्पन्न भएको छ, ट्राफिक समस्या समाधानका लागि यस्ता फ्लाइओभर अन्य सहरी क्षेत्रमा समेत निर्माण गरिनेछ, काठमाडौं–तराई द्रुतमार्गको काम द्रुत गतिमै भइरहेको छ’, उहाँले भन्नुभयो ।

अनलाइन मार्फत फेसलेस सेवा विस्तार गरिएको बताउँदै उहाँले सुशासन अभिवृद्धि र सार्वजनिक सेवामा छरितोपन बढाउँदै लगिएको जानकारी दिनुभयो । अनलाइन मार्फत अतिरिक्त कक्षा चलाएर एसईई परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या गत वर्षको तुलनामा १३.९४ प्रतिशतले वृद्धि भएको, ३.२ र सो भन्दा माथिको औसत ग्रेड प्वाइन्ट प्राप्त गर्ने विद्यार्थीको प्रतिशत समेत गत वर्षभन्दा ८.०८ प्रतिशतले बढेर २९.३८ प्रतिशत पुगेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

सरकारको प्राथमिकतालाई सङ्केत गर्न मात्रै आफूले यी तथ्य उल्लेख गरेको उहाँले बताउनुभयो । परिणामलाई कसरी लिने भन्ने कुरामा प्रतिपक्षको फरक राय आउन सक्ने उहाँको धारणा छ । ‘मानेँ, खाली त खाली नै होला–हेर्ने तरिका न हो, आधा खाली कि, आधा भरी ? मेरो दाबी छ, यो सरकारको काम आधा खाली होइन, आधा भरी हो, हो, फाटेको पोसाक टाल्दा हुने अनुभूति र नयाँ सिलाएको पोसाकले दिने अनुभूति निश्चय नै फरक हुन्छ, अहिले यो सरकार, ब्राण्ड न्यु हैन, भत्किएको रेट्रोफिट गर्न, पारिएको प्वाल टाल्न र झरी वर्षाले बगाएपछिको नवनिर्माण गर्ने आधार तयार गर्न व्यस्त छ’, उहाँले भन्नुभयो ।