काठमाडौं, साउन २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले विधान महाधिवेशनको तयारीमा जुटेको बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघद्वारा आयोजित नेपाली कृषि क्रान्तिको कार्यदिशा विषयक राष्ट्रिय कार्यशालालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा कसरी जाने भन्ने विषयमा एक खालको दृष्टिकोण बनाएको बताउनुभयो ।
विधान महाधिवेशनको तयारीका सिलसिलामा दुई कार्यकाल र ७० वर्षको उमेर हदको विषय केही चर्चामा आएको उहाँले जानकारी दिनुभयो । यी दुई विषयमा एकजना नेता बाहेक अरू कसैको असहमति नरहेको पोखरेलले बताउनुभयो । ‘सबैको सहमतिमा हामीले निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो ।
दुई कार्यकाल र ७० वर्षको उमेर हद हटाएर पार्टी अघि बढ्नु पर्छ भन्ने विषयमा पार्टीमा सहमति बनेको उहाँले बताउनुभयो । यी विषय कुनै व्यक्ति विषयसँग नजोडिएका उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले एमालेलाई बलियो बनाउन सबैभन्दा पहिला जनसंगठनलाई बलियो बनाउनु पर्ने बताउनुभयो । जनसंठनलाई आधार बनाएर संगठनको सदस्यता विस्तारको काम हुन नसकेको कारण पार्टीमा नयाँ मानिसको प्रवेश कम भएको पोखरेलले बताउनुभयो । निर्णायक शक्ति निर्माणको लागि यो कुरा आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पनि पार्टीले सोची बिचारी निर्णय गरेको बताउनुभयो । पार्टी, देश र व्यवस्थाको हितका लागि उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने निष्कर्षमा पार्टी पुगेको पोखरेलले सुनाउनुभयो । ‘राष्ट्रपति र उपराष्ट्रपति संसदीय व्यवस्थामा लोकतन्त्रका सिम्बोलहरु हुन्, त्यो तहका नेताहरू फेरी सक्रिय राजनीतिमा फर्कन हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ’, उहाँले भन्नुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति अति मर्यादित पद भएकाले त्यहाँबाट रिटायर भएपछि पनि उहाँहरूलाई मर्यादामा नै राख्नु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले एमालेले पूर्वराष्ट्रपतिको मर्यादा ख्याल गर्दै सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।
उहाँले नयाँ पुस्ता कृषि क्षेत्रमा जान नमान्नु आजको नेपालको प्रमुख समस्या भएको उहाँले बताउनुभयो । देशमा रोजगारी सिर्जना हुन नसक्नुको मुख्य कारण पनि यही भएको पोखरेलले बताउनुभयो । मुलुकको ठुलो जनसङ्ख्यालाई आज पनि रोजगारी दिने हैसियत राख्ने क्षेत्र कृषि क्षेत्र नै हो भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपालमा कृषि व्यवसायको नेतृत्व गर्ने जनशक्ति तयार नै हुन नसकेको उहाँले बताउनुभयो । अहिलेको विश्वविद्यालय व्यवसाय गर्ने जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै उहाँले विश्वविद्यालयको उत्पादन केवल जागिर खाने जनशक्तिमा सीमित रहेको पोखरेलको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्