जनता टाइम्स

१ मंसिर २०७६, आईतवार ०८:१४

मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुग्नुभएको छ । गत असोज १३ गते ग्राण्डी अस्पतालमा होमोडायलासिस गराउनु भएका प्रधानमन्त्री ओलीले चिकित्सक र नेकपाका नेताहरुसँगको परामर्शको क्रममा मृगौला प्रत्यारोपन नै गर्ने निश्कर्ष सुनाउनु भएको हो ।

ग्राण्डीबाट पहिलो र दोस्रो पटक डायलासिस गराएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका नेताहरुसँग प्रधानमन्त्री ओलीले मृगौला पुनः प्रत्यारोपनको योजना सुनाउनु भएको थियो । उपचारमा संलग्न चिकित्सकलेउहाँलाई नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न विकल्प दिएका थिए । नेकपाका नेताहरुले केही समय डायलासिस गरेर हेर्न सुझाएका थिए ।

गत १३ गते ग्रान्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलासिस गरेर डिस्चार्ज गरिएको थियो । १७ दिनपछि हिजो शनिबार ग्रान्डीमै प्रधानमन्त्री ओलीको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्राडा प्रेमराज ज्ञवालीले बताउनु भयो । शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलासिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ ।

पिसाब कम भएको सिकायत भएपछि कात्तिक १३ गते प्रधानमन्त्री ओली अस्पताल जानुभएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो । मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे÷नगरेको निश्चित गर्न ओलीलाई हिजो शनिबार अस्पताल लगिएको हो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।

अस्पताल पुगेको वेला मिर्गौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकहरूले राखेका थिए । तर, प्रधानमन्त्रीले ‘म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नुपर्दैन’ भन्दै थप परीक्षणमा अनिच्छा देखाउनु भएको थियो । तर, चिकित्सकले सम्झाएपछि रगत परीक्षण गरिएको छ । रगतको रिपोर्टमा क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम प्रतिशत पुगेको भेटिएपछि शनिवार तेस्रो पटक प्रधानमन्त्री ओलीको हेमोडायलाइसिस सुरु गरेका थिए ।

तीन घन्टा हेमोडायलाइसिस गरेर प्रधानमन्त्री शनिबार नै बालुवाटार फर्किएर नियमित काम थाल्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटार फर्केलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग आफ्नो स्वास्थ्य अवस्था, चिकित्सकको भनाई र पार्टी एकताको बाँकी काम टुंग्याउनेबारे छलफल गर्नुभएको हो ।