जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार १९:२९

टप इन्ड टी–२० मा नेपालको लगातार दोस्रो हार, बंगलादेश ‘ए’सँग ३२ रनले पराजित


काठमाडौं, ३१ साउन । अष्ट्रेलियामा जारी टप इन्ड सिरिज टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनको हार ब्यहोरेको छ।

शनिबार डार्विनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । नन्दन यादव १४ रनमा अविजित रहे भने ओपनर आसिफ शेखले २८ रन बनाए । तर, अन्य ब्याटरहरू नचल्दा नेपालले लक्ष्य पछ्याउन सकेन ।

यसअघि, बंगलादेशका लागि जिसन आलमले ७३ रनको उत्कृष्ट पारी खेले । उनले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्कोर बनाउन मद्दत गरे । यस्तै, आफिफ होसैनले अविजित ४८ रन जोडे भने कप्तान महिदुल इस्लाम अन्कोनले २६ रन बनाए ।

नेपालका बलरमध्ये करण केसी, गुलशन झा, नन्दन यादव, कुशल मल्ल, सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

बंगलादेशको बलिङमा हसन महमुदले २ विकेट लिए भने तोफेल अहमद, रकिबुल हसन र मन्डलले एक–एक विकेट हात पारे।

यो हारसँगै नेपालले सिरिजमा लगातार दोस्रो पराजय खेपेको छ । यसअघि नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल अगस्त १८ तारिखमा स्टार्ससँग र चौथो खेल १९ तारिखमा हरिकन्ससँग खेल्नेछ ।

नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’ सँग छैटौं खेल खेल्नेछ । यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ ।

दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपाली टोलीले आफ्नो पाँचौं तथा अन्तिम खेल पनि अगस्त ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स ९यूएई० समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।