जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १४:४८

दुर्गमका गर्भवतीका लागि भगवान बन्दै राष्ट्रपति महिला उद्धार कार्यक्रम, यसरी बचाइरहेछ दैनिक ज्यान


हेमन्त केसी / जाजरकोट

कर्णाली प्रदेशको जाजरकोट, डोल्पालगायतका जिल्लामा अझै सडक सञ्जाल गाउँगाउँमा नजोडिएका कारण यहाँका अधिकांश गर्भवतीको हवाई सेवामार्फत उद्धार गरी ज्यान बचाउँदै आइएको छ । सुविधासम्पन्न स्वास्थ्य संस्थादेखि भएका स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुँदा यहाँका अधिकांश गर्भवतीको हवाईमार्गबाट उद्धार गरी ज्यान बचाउने काम महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धारकोषको आर्थिक सहयोगमा हुँदै आएको छ ।

कर्णाली प्रदेशको सबैभन्दा दुर्गम जिल्ला डोल्पामा मात्र यो आर्थिक वर्षमा १२ जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षितरूपमा स्वास्थ्य संस्था पठाएर ज्यान बचेको छ । त्यस्तै जाजरकोटमा छ जनाको उद्धार गरी ज्यान बचेको प्रजिअ जनकराज पन्तले जानकारी दिनुभयो । दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदयाममा मात्र सञ्चालन हुने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य पु¥याउन मुस्किल हुँदै आएको छ ।

उता डोल्पाको सदरमुकामसम्म मात्र सडकको ट्र्याक खुला भएको छ भने उपल्लो डोल्पामा सडक निर्माणका लागि पहल नै शुरु भएको छैन । सडक सञ्जालसँग उपल्लो डोल्पा अहिलेसम्म जोडिन नसक्नु र भौगोलिकरूपमा जटिल भएका कारण यहाँका अधिकांश गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचाउन बाध्य भएको अधिकारी बताउँछन् । जिल्लाका सबै ठाउँमा सञ्चार सुविधा नहुनाका साथै समयमै खबर पाउन नसक्दा उद्धारमा केही चुनौती थपिएको जिल्लाका सरकारी अधिकारीको भनाइ छ ।

दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लानुभन्दा पहिला स्थानीय धामी, झाँक्री कहाँ देखाउँदा कतिपयको अकालमै ज्यानसमेत जाने गरेको छ । अधिकांश सर्वसाधारणलाई महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धारकोषले आर्थिक लगानी गरेर गर्भवतीको ज्यान बचाउने कार्यमा सहयोग गर्छ भन्नेसम्म थाहा नभएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपति उद्धारकोषको विषयमा व्यापक प्रचार हुनु जरुरी छ, जसका कारण हाम्रा धेरै दिदीबहिनीको ज्यान बचोस ।” अहिले डोल्पा र जाजरकोटका अधिकांश गाउँमा हेलिप्याड निर्माण कार्य शुरु गरिएको छ । जाजरकोटकोे बारेकोट गाउँपालिकाले अघिल्लो वर्ष नै सबै वडामा एक÷एक वटा हेलिप्याड निर्माण गरिसकेको छ । अन्य स्थानीय तहले पनि पायक पर्ने ठाउँमा हेलिप्याड निर्माणका लागि कार्य शुरु गरेको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

डोल्पाका अधिकांश गाउँमा पनि स्थानीय तहको सहकार्यमा हेलिप्याड निर्माण गर्ने चरणमा कार्य अगाडि बढेको छ । दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था पुर्याउने समयसम्म स्वास्थ्य ठूलो समस्या आइलाग्ने अस्थालाई मध्यनजर गरी हवाईमार्गबाट मानिसको ज्यान बचाउन सजिलो होस् भनी हेलिप्याडको अवधारणा अघि सारिएको छ । अन्य विपतमा समेत हवाईमार्गबाट राहत, उद्धार गर्न सजिलो हुने भएकाले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने योजना कार्यान्वयमा ल्याइएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो ।

डोल्पाका अधिकांश ठाउँमा स्वास्थ्य संस्था पहुँचमा नहुँदा अधिकांश बिरामी हवाईमार्गबाट नै जिल्लाबाहिर लिएर उपचार गरिँदै आइएको छ । सदरमुकाम दुनैमा रहेको स्वास्थ्य सेवा कार्यालयमा सुविधा नहुँदा अधिकांश बिरामी बाहिर लगेर उपचार गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् । उपल्लो डोल्पाका स्थानीयवासी स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ उपचारका लागि नजिक स्वास्थ्य संस्था नहुँदा जिल्ला बाहिर हवाईमार्गबाट जानेगरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो । रासस