जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १५:५४

यो सरकार झुक्किदैन, मेडिकल कलेजले विद्यार्थीबाट ठगी गरेको पैसा फिर्ता गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अतिरिक्त शुल्कका नाममा ठगी गर्नेलाई कारवाही गर्ने घोषणासमेत गर्नुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको खुलासा गर्नुभयो । ‘कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भन्दैछन, नेकपाको सरकार त अहिले आयो । त्यसअघि करोडसम्म उठाएका थिए, हामी त्यो फिर्ता गराउन खोजिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमाथि आरोप लगाउनेहरुप्रति बिचरा भन्न मन लाग्छ, दया लाग्छ ।’

प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने भन्दै कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने बटमलाइन सुनाउनु भयो । ‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ । पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि बताउनु भयो ।

मेडिकल कलेज सञ्चालकले कलेज चलाउन सकिँदैन भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नाफाको कुरा गर्नुभयो । ‘उहाँहरुको नाफा कति छ ? भर्खर खुलेका मेडिकल कलेजले समेत अकुत नाफा लिएका छन् । विद्यार्थीलाई भैंसी जसरी तान्ने प्रवृति देखिएको छ । हामी स्वच्छता र पारदर्शीताको पक्षमा छौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।