काठमाडौं , २० भदौ। जब विश्वभर विद्युतीय सवारी साधनप्रतिको आकर्षण चुलिँदैछ । जापानी अटोमोबाइल कम्पनी टोयोटाले भने आफ्नो बहुप्रतीक्षित रणनीति र उत्पादन सन्तुलनको भरमा बिक्रीमा नयाँ उचाइ हासिल गरेको छ ।
कम्पनीले परम्परागत इन्जिन र हाइब्रिड प्रविधिको संयोजनमार्फत आफूलाई अझ बलियो बनाउँदै लगिरहेको छ । ६ महिनाको अवधिमा नै कम्पनीले साढे ५१ हजार बढी युनिट कार बिक्री गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सन् २०२५ को पहिलो ६ महिनामा अर्थात् जनवरीदेखि जुन अन्त्यसम्म आँकडाले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीले विश्वभर ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको छ । यसले टोयोटाले आफ्नो दबदबा अझ मजबुत बनाएको देखिन्छ ।
कम्पनीको कार बिक्री दर गत वर्षको तुलनामा ५.५ प्रतिशत बढेको हो । योसँगै टोयोटाले आफूलाई फेरि एकपटक विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनीको हैसियतमा उभ्याएको छ । हाइब्रिड कारप्रतिको विश्वव्यापी माग, उत्पादन क्षमतामा गरिएको वृद्धि र रणनीतिक बजार विस्तार गरेको छ । जसले टोयोटालाई उपलब्धि दिलाएको हो ।
टोयोटाको यो सफलताको मुख्य श्रेय उत्तर अमेरिका, चीन, जापान र भारत जस्ता प्रमुख बजारलाई जान्छ । कम्पनीले युरोपमा पनि उल्लेख्य बिक्री वृद्धि गर्न सकेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो ।
तीव्र गतिमा बढ्दो शहरीकरण, इन्धन किफायती प्रविधिप्रतिको रुचि र उपभोक्ताको ब्रान्डप्रतिको विश्वासले टोयोटाको बिक्री बढाउन भूमिका खेलेको छ ।
टोयोटाको हाइब्रिड कारले बजारमा राम्रो पकड जमाइरहेको छ । कम्पनीका अनुसार हालसम्मको कुल बिक्रीमध्ये करिब ४८ प्रतिशत कार हाइब्रिड प्रविधिमा आधारित छन् । गत वर्षको तुलनामा हाइब्रिडको बिक्रीमा १९ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ ।
पछिल्लो समय टोयोटाले हाइब्रिड सेग्मेन्टमा नेपाली बजारतर्फ ध्यान दिइरहेको देखिन्छ । नेपालमा टोयोटाले मुख्यतया प्रिमियम गाडीहरूमार्फत उपस्थिति बनाएको छ । टोयोटा र्याभफोर, ल्यान्ड क्रूजर प्राडो, एलसी–३०० जस्ता मोडलहरू लोकप्रिय छन् ।
यारिस क्रस हाइब्रिड र कोरोला क्रस हाइब्रिड जस्ता मोडलहरू राजधानी काठमाडौँ लगायत सहरमा लोकप्रिय बन्दै गइरहेका छन् । यी मोडेलहरुले तुलनात्मक रूपमा सस्तो मूल्यमा हरित प्रविधिको अनुभव दिने भएकाले युवापुस्तामाझ समेत आकर्षण बढ्दैछ ।













प्रतिक्रिया दिनुहोस्