जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १८:२९

नेपालमा लगानी गर्न युएइका लगानीकर्तालाई उपप्रधानमन्त्री पोखरेलको आग्रह, दिनुभयो यस्तो अफर


काठमाडौं, मंसिर ३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीकर्तालाई कुनै किसिमको समस्या नभएको र त्यसको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको जानकारी दिनुभयो । चीन र भारतको बीचमा अवस्थित नेपाल बजार विस्तारका दृष्टिले उपयुक्त भएको बताउँदै उहाँले द्विपक्षीय सहयोगका माध्यमबाट नेपालमा उत्पादित वस्तु ती दुवै देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो ।

लगानीको वातावरण बनाउन सरकारले कर, आयकर, अन्य आम्दानीमात्र नभई एकद्वार प्रणालीमार्फत सरल र सहज ढङ्गले सेवा प्रवाहको व्यवस्था मिलाएको जानकारी दिँदै उहाँले विशेष आर्थिक क्षेत्रको सुविधासमेत भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । नेपाल र युएईको अर्थतन्त्र निर्माणमा दुई लाख ५० हजारभन्दा बढी नेपालीले योगदान गरेका भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र युएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझेदारी गर्दै आएका बताउनुभयो ।