काठमाडौं, भदौ २५ । जेन–जेड पुस्ताको आन्दोलनपछि देशभर फैलिएको असहज परिस्थितिप्रति प्रेस चौतारी नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ।
चौतारीले बुधबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा प्रहरीको गोली लागी २३ निहत्था नागरिकको मृत्यु हुनु, प्रधानमन्त्रीको राजीनामापछि पनि सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु स्तब्धतापूर्ण भएको उल्लेख गरेको छ।
प्रेस चौतारीले यस संकटपूर्ण घडीमा वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न आवश्यक पहल हुनुपर्छ।’
आन्दोलनका क्रममा सञ्चारकर्मी तथा सञ्चारमाध्यममाथि आक्रमण हुनु दुःखद भएको चौतारीले जनाएको छ। समाचार संकलनका लागि खटिएका पत्रकारमाथि आक्रमण हुनु, सञ्चारमाध्यममा तोडफोड, आगजनी र आतंकपूर्ण गतिविधि हुनु निन्दनीय भएको संगठनले जारी गरेकाे प्रेस वज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत र केन्द्रीय सदस्य सुमन ढुंगानालाई अराजक व्यक्तिहरूबाट धम्की दिइएको घटनाप्रति संगठनले गम्भीरता प्रकट गरेको छ। चौतारीका महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारलाई धम्की दिनु लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ।
‘पत्रकारलाई डरधम्की देखाएर चुप पार्ने प्रयास हामीलाई कदापि स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिमाथि कानुनी कारबाही गर्न र सुरक्षा प्रदान गर्न राज्यलाई जोडदार माग गर्दछौँ।’
प्रेस चौतारीले प्रेस स्वतन्त्रता, लोकतन्त्र र शान्तिपूर्वक लेख्न तथा बोल्न पाउने अधिकारको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता जनाएको छ। साथै, आन्दोलनका क्रममा घाइते भएका सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न राज्यलाई आग्रह गरेको छ। समाचार संकलन निर्वाध रूपमा गर्न सहज वातावरण बनाउन नेपाली सेनासहित सबै राज्य निकायलाई पनि अपील गरिएको छ।
विज्ञप्तिमा संकटपूर्ण परिस्थितिमा समेत निरन्तर समाचार संकलन, प्रकाशन र प्रशारणमा सक्रिय सम्पूर्ण सञ्चारकर्मीप्रति आभार प्रकट गर्दै सुरक्षित भएर पेशागत जिम्मेवारीमा लाग्न अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्