जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ११:११

हेटौँडामा कात्तिक १३ देखि पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुने


हेटौँडा, कात्तिक ११ । स्वस्थ जीवनशैली र योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा पाँचदिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।

पतञ्जली योग समिति हेटौँडा–७ नम्बर वडा समितिको आयोजनामा कात्तिक १३ गतेदेखि १७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो। शिविरमा सहभागीलाई योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिनुभयो।

हेटौँडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुने शिविरमा योगको महत्त्व, नियमित योगाभ्यासबाट प्राप्त हुने फाइदा तथा विभिन्न रोगबाट बच्ने उपायबारे जानकारी दिइने उहाँले बताउनुभयो।

शिविरमा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण दिनुहुने कार्यक्रम संयोजक दाहालले जानकारी दिनुभयो।

नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा सञ्चालन हुने शिविर हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म चल्ने प्रचारप्रसार संयोजक नवराज खतिवडाले जानकारी दिनुभयो। उहाँले योगमा रुचि राख्ने स्थानीय नागरिकलाई शिविरमा सहभागी हुन आग्रह गर्नुभयो।

पतञ्जली योग समितिले २०६७ सालदेखि हेटौँडा–७ तथा आसपासका क्षेत्रमा योगाभ्यास र जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। ‘घरघरमा योग, जनजनमा योग’, ‘सबै निरोग, सदा निरोग’ तथा ‘सकारात्मक सोच निर्माण अभियान’ जस्ता कार्यक्रममार्फत नागरिकको स्वास्थ्य र जीवनशैली सुधारमा योगदान पुर्‍याउने उद्देश्य समितिले राखेको जनाएको छ।