जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १०:५०

चोलेन्द्र प्रकरणमा नयाँ खुलासा : बिचौलिया इनमको सुशिल भट्ट र कांग्रेस बरिष्ठ नेताहरूसँग देखियो निरन्तर सम्पर्क


काठमाडौं, कात्तिक ११ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले बिशेष अनुसन्धान अघि बढाएको छ ।

सापकोटासँग निरन्तर सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत –सिईओ) भट्टलाई असोज ३१ मा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । सापकोटालाई असोज १४ गते प्रहरीले पक्राउ गरेको थियो । भारतको नयाँदिल्ली जान लागेको अवस्थामा सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरीले सापकोटा र भट्ट दुवैमाथि राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले दुवै जनामाथि अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको छ ।

एसपी नरहरि रेग्मीको नेतृत्वमा गठित विशेष अनुसन्धान समिति गठन गरिएको हो । रेग्मी उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहनुभएको छ । सो समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्नेछ ।पक्राउ परेका पूर्वसिईओ सुशील व्यवसायी दिपक भट्टका दाजु हुनुहुन्छ । व्यवसायी भट्ट अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागी सिन्धुपाल्चोक कारागारमा रहनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले सापकोटालाई परिचालन गरेर व्यवसायी भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशंका गरिएको छ । चोलेन्द्रलाई असोज १० गते मध्यरात पक्राउ गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज ११ को मध्याह्नमा रिहा गरेको थियो । सुलभ अग्रवाल पनि अहिले सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा हुनुहुन्छ ।

भट्ट-सापकोटाबीच तारन्तार सम्पर्क

प्रहरीले सापकोटाको मोबाइलको फरेन्सिक जाँच गरेको छ । लगानी बोर्डका पूर्वसीइओ भट्ट र सापकोटाबीच तारन्तार मोबाइल नम्बर र ह्वाट्स एपमार्फत सम्पर्क हुने गरेको भेटिएको तथ्य फेलापरेको प्रहरीले जनाएको छ ।

फरेन्सिक परीक्षणको रिपोर्टमा उक्त विवरण भेटिएको हो । सपाकोटासँग प्रहरीका केही उच्च अधिकृतहरूसँग पनि नियमित सम्पर्क हुने गरेको भेटिएको छ । प्रहरीका अधिकृतहरू, व्यवसायी र अदालतका उच्च अधिकृतहरूसँगको सापकोटाको सम्पर्कबारे पनि अनुसन्धान भइरहेको छ ।

चोलेन्द्रसँग कनेक्सन देखिएपछि सापकोटालाई अनुसन्धानको दायरामा ल्याइएको थियो । झापा घर भएका ३१ वर्षीय सापकोटाको परिवार बुढानिलकण्ठमा बस्ने गरेपनि सापकोटा भने पानीपोखरीस्थित ‘पानीपोखरी हाइट’ अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । प्रहरीले सापकोटाको अपार्टमेन्टमा छापा मारेर त्यहाँ भेटिएका कागजात र डिजिटल सामग्री नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसका केही बरिष्ठ नेताहरूसँग पनि सापकोटाको नियमित सम्पर्क देखिएको छ ।

चोलेन्द्र प्रकरणमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परिसक्नुभएको छ । चोलेन्द्रलाई प्रहरीको कार्यालयमा भेटेको आरोपमा सरकारले बर्खास्त गरेको हो । सापकोटाको सम्पर्क दाहालसँग पनि देखिएको छ ।

सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले गरेको जाँचबुझ प्रतिवेदनअनुसार दाहाल र सापकोटबीच सम्पर्क देखिएको हो । जाँचबुझ समितिसँगको बयानमा पनि दाहालले सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् ।

यही प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चोलेन्द्रका भाइ प्रभु शमशेर जबरा, नवराज थपलिया, दिपक तिमल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा छापा मारेको थियो । छापा मारिएका सवै जना चोलेन्द्रका निकटस्थका रुपमा परिचित छन ।