काठमाडौं, भदौ २६। विभिन्न क्षेत्रका १६ जना नागरिक अगुवाहरूले ‘भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताजस्ता उचित माग राखी सुरु भएको शान्तिपूर्ण आन्दोलन दिनमै हिंसात्मक बन्नु दुःखद भएको बताउनुभएको छ ।
उहाँहरूले संयुक्त वक्तव्य जारी गर्दै हालैको जेनजी आन्दोलनमा राज्य पक्षले गरेको दमनप्रति पनि कडा आपत्ति जनाउनु भएको छ । ३० जनाभन्दा बढीको ज्यान जाने र सयौँ घाइते हुने अवस्थाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएको छ। साथै घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताजस्ता उचित माग राखी सुरु भएको शान्तिपूर्ण आन्दोलन केही दिनमै हिंसात्मक बन्नु दुःखद हो, भदौ २४ गतेसम्म आइपुग्दा विदेशी तथा प्रतिगामी शक्तिको घुसपैठका कारण आन्दोलन अराजक भएको देखिन्छ, जसलाई स्वयं जेनजी नेतृत्वले पनि स्वीकार गरिसकेको छ ।’
नागरिक अगुवाहरूले आन्दोलनका क्रममा भएको ‘बर्बर दमन र ध्वंसात्मक अराजकता’ दुवैको स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नु भएको छ। उहाँहरूले आन्दोलनलाई अराजक बनाउन सामाजिक सञ्जालमार्फत फैलाइएका उत्तेजनात्मक अभिव्यक्ति र लोकरिझ्याइँलाई समेत यसको जिम्मेवार ठहर्याउनु भएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि भदौ २४ गते राति १० बजेदेखि कर्फ्यु जारी र सेना परिचालन भएको अवस्थाबारे वक्तव्यमा उल्लेख गर्दै, सेनाले सुरक्षाको प्रत्याभूति दिन गरेको प्रयासलाई सकारात्मक मानिएको छ । तर, राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने सन्देश प्रधानसेनापतिबाट आउनु असंवैधानिक भएको ठहर वक्तव्यमा गरिएको छ । ‘नेपाली सेनाले विगतमा गरेको पेसागत व्यावसायिकताको प्रतिबद्धतालाई स्मरण गराउँदै कुनै पनि मूल्यमा नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चताको दायराभित्र रहेर मात्र यो सङ्कटको निकास खोजिनुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
नागरिक अगुवाहरूले नेपालको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता र समाजवाद उन्मुख राज्यव्यवस्थालाई क्षति नपुर्याई समस्या समाधानका लागि संविधानकै संरक्षकका हैसियतले राष्ट्रपति अघि सर्नुपर्नेमा जोड दिनुभएकाे छ । संसद् नै जनप्रतिनिधिमूलक संस्था भएकाले समाधान पनि संवैधानिक प्रक्रियामार्फत खोजिनुपर्ने उहाँहरूको अडान छ ।
वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा निलाम्बर आचार्य, पीताम्बर शर्मा, मल्ल के सुन्दर, रत्नसंसार श्रेष्ठ, गीता त्रिपाठी, बिन्दु शर्मा, सुशील प्याकुरेल, जगत देउजा, श्याम श्रेष्ठ, परशुराम तामाङ, चण्डेश्वर श्रेष्ठ, टिकाराम भट्टराई, विश्वप्रकाश भण्डारी, राजेन्द्र महर्जन, गोविन्द छन्त्याल र महेश मास्के हुनुहुन्छ।















प्रतिक्रिया दिनुहोस्