काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदभित्रबाटै संबिधानसम्मत निकाश खोजन दलहरुले दिएको सुझाव अस्वीकार गर्दै जेनजीको प्रस्तावअनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय सुनाउनु भएको हो ।
राष्ट्रपति पौडेलको आह्वानमा शीतल निवासमा बिहीवार रातीसम्म चलेको सर्वपक्षीय बैठकमा यस्तो निर्णय सुनाइएको र सो निर्णयमा सवैले सहमति जनाएको शीतलनिवास स्रोतले जनाएको छ ।संबिधानभन्दा पनि आन्दोलनकारीको प्रस्तावमा आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने भएको हो । बैठकमा सहभागी स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार अन्यथा नभए शुक्रवार विहानसम्म पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनका ज्ञाता र नेपाली कांग्रेससहित सम्पर्क हुन सकेका राजनीतिका दलका नेताहरूसँग छलफल गर्नुभएको शीतलनिवासले जनाएको छ । सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ। यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए ।
राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयमा पुगेको जानकारी सभामुख घिमिरे र नेपाली कांग्रेसका नेताहरुलाई गराएको स्रोतले बताएको छ । शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको भन्दै ’अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दै छु’ भन्ने जानकारी गराउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्