जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १७:०८

सिन्धुपाल्चोकका तीन दलको संयुक्त वक्तव्य : ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा सङ्कल्प’


सिन्धुपाल्चोक, भदौ २७। सिन्धुपाल्चोक जिल्लामा सक्रिय प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त वक्तव्य जारी गर्दै देशमा उत्पन्न असामान्य परिस्थिति र पछिल्ला घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

वक्तव्यमा जेन जेड आन्दोलनका क्रममा भएको मानवीय क्षति र खरबौँ मूल्य बराबरका भौतिक संरचना ध्वस्त हुनु दुःखद भएको उल्लेख छ। असावधानीवश प्राण गुमाएका युवा, विद्यार्थी तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

दलहरूले जेन जेडले उठाएका जायज मागहरूलाई कमजोर तुल्याउने उद्देश्यले अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र त्यसकै कारण भिड अनियन्त्रित बनेर ठुलो क्षति भएको बताउँदै संविधान विपरीत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटलाई घृणित कार्यको रूपमा निन्दा गरेका छन्।

वक्तव्यमा संघीय गणतन्त्र नेपालको रक्षा र लोकतन्त्रको संस्थागत विकासलाई साझा सङ्कल्प बनाइने उल्लेख छ। जेन जेड आन्दोलनका मागहरू संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्दै सामाजिक सञ्जाल निर्बाध सञ्चालनमा ल्याउनुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने र अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने स्पष्ट गरिएको छ।

त्यस्तै स्थानीय सरकारमार्फत नियमित सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने र मुलुकमा देखिएको सरकारविहीनताकाे अवस्थालाई संविधानअनुसार समाधान गर्नुपर्नेमा पनि वक्तव्यमा जोड दिइएको छ।

दलहरूले यस कठिन परिस्थितिमा सिन्धुवासीलाई संयमित भई लोकतन्त्र र गणतन्त्रको सुन्दरतालाई कायम राख्दै राष्ट्रिय गौरव र स्वाभिमानको रक्षा गर्ने प्रतिबद्धतासहित राष्ट्रिय एकतालाई अझ सबल बनाउन आह्वान गरेका छन्।

संयुक्त वक्तव्यमा नेपाली कांग्रेसका सभापति जङ्गबहादुर तामाङ, नेकपा (एमाले) का अध्यक्ष होमनारायण श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोविन्द पराजुलीको हस्ताक्षर रहेको छ।