जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १७:४१

हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, दाग पुछ्नु पर्छ : गगन थापा


काठमाडौं,भदौ २७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूको अनुहारमा दाग लागेकोले अब जनतासँग माफी माग्नुपर्ने बताउनुभएको छ। एक भिडिओ सन्देश जारी गर्दै उहाँले भदौ २३ गते कसैले नचाहेको अकल्पनीय घटना हुँदा आफूहरू सरकारमै भएकाले कांग्रेसले माफी माग्नुपर्ने बताउनुभयो ।

कांग्रेस पार्टी यस विषयमा सिङ्गो देशसँग माफी माग्नु पर्ने र यो घाउलाई पुर्न कोसिस गर्नुपर्ने उहाँको धारणा छ।  ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो, हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ’,  भिडियो सन्देश मार्फत थापाले भन्नुभएको छ ।

उहाँले नियतवश पार्टीसहितका सबै नेताहरूको घर जलाउनेलाई कानुनको दायरामा ल्याउनुपर्ने माग गर्नु भएको छ । ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौँ साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ, तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ’, उहाँको धारणा छ ।

जेनजी आन्दोलनकारीले मागको सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्ने पनि उहाँले बताउनुभएको छ।  ‘अन्तरिम सरकार बनाउने कुरा छ, सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुङ्गिएला,आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ’, उहाँले भन्नुभयो ।

तत्काल नयाँ सरकार बनेपछि भदौ २३ र २४ भएका अमानवीय र क्रूर घटना प्रत्येकको छानबिन र दोषीलाई कारबाही हुनुपर्ने कांग्रेसको माग रहने उहाँले बताउनुभयो । उहाँले सबैको सम्पत्ति छानबिन गर्न समेत माग गर्नुभयो।