जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार १५:३४

भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन, मान्छेलाई मार्न सकिन्छ तर उसको विचारलाई हराउन सकिँदैन : गोकुल बाँस्कोटा  


काठमाडौं, भदौ २८। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य  गोकुलप्रसाद बाँस्कोटाले पार्टीभित्र खुल्ला समीक्षा र युवा पुस्तासँगको सम्बन्ध सुधार गर्न तुरुन्तै पार्टीका फोरम बोलाउन आग्रह गर्नुभएको छ।

शनिबार फेसबुक स्ट्याटसमा आफ्नो धारणा राख्दै उहाँले पार्टीका कमजोरी र भावी योजनाको खुल्ला छलफल गर्न पार्टीको फोरम आयोजना गर्नु पर्ने माग राख्नु भएको छ । ‘नीति र विधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वतः हुन्छ, ब्रेन ड्रेन, ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर, बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर’, उहाँले लेख्नु भएकाे छ ।

उहाँले ‘म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ विषय स्पष्ट र गतिशील हुन्छन्’ भन्दै पार्टीभित्रको वैचारिक बहस र आलोचनालाई सक्रिय बनाउनु आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभएको छ। बाँस्कोटाले थप्नुभएको छ, ‘भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन, मान्छेलाई मार्न सकिन्छ तर उसको विचारलाई कदापि हराउन सकिँदैन।’

बाँस्कोटाका यी अभिव्यक्तिले वर्तमान अवस्थामा पार्टीभित्र मनस्थितिको समीक्षा र संरचनागत सुधारबारे चलिरहेको बहसलाई तीव्रता दिन सक्छ। विशेष गरी युवा पुस्ता (Gen-Z) सँगको दूरी घटाउन र ‘ब्रेन ड्रेन’ वा आन्तरिक विभाजन रोक्न पार्टी नेतृत्वलाई विचारपूर्ण कदम चाल्न  उहाँले आग्रह गर्नु भएकाे छ ।