सिन्धुली, भदौ ३० । भदौ २४ गते जेनजी आन्दोलनका नाममा सिन्धुलीमा व्यापक तोडफोड र आगजनी भएको छ ।
सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालय र कम्तीमा ६ वटा व्यक्तिका घरमा क्षति पुगेको छ। घटनामा कार्यालयका महत्त्वपूर्ण कागजात, डाटासेन्टरका अभिलेख र विद्युतीय उपकरणहरू जलेर नष्ट हुँदा स्थानीय प्रशासनिक सेवा प्रभावित भएका छन्।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार जिल्ला प्रशासन कार्यालयका अधिकांश कागजात, तथ्याङ्क र डाटासेन्टरहरू जलेका छन् । नागरिकता, राहदानी, प्रशासन र मुद्दा फाँटका अभिलेखहरू नष्ट भएका छन्। ‘कार्यालयमा प्रयोग भएका २७ वटा कम्प्युटर र प्रिन्टरमध्ये केही पूर्ण रूपमा जलेका छन् भने केही चोरी भएका छन् ।
सिन्धुली जिल्ला अदालतका सबै कम्प्युटर तथा मनिटर जलेका छन् । करिब ८ सय नयाँ र पुराना मुद्दाका मिसिलसमेत नष्ट भएका छन् । यसले न्यायिक सेवामा ठुलो अवरुद्धता ल्याउने सम्भावना देखिएको छ ।
नेपाल बार एसोसिएसन जिल्ला वार इकाइको भवनमा कागजात बाहिर निकालेर जलाइएको र फर्निचर तथा सिसा फर्निचर तोडफोड गरिएको गरिएको छ।
आन्दोलनकारीहरूले कमलामाई नगरपालिका, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा पनि क्षति पुर्याएका छन्। नगरपालिका कार्यालयमा ठुलो क्षति भएको छ ।
मालपोत कार्यालयका कागजात बाहिर निकालेर आगो लगाइएको भए पनि कार्यालय भवनमा ठुलो संरचनात्मक क्षति नभएको प्रशासनले जनाएको छ। त्यसैगरी करदाता सेवा कार्यालयका विद्युतीय सामग्री र कागजात नष्ट भएको छ।
घटनामा पाँचवटा सरकारी सवारीसाधन पूर्ण रूपमा जलेका छन्। कमलामाई नगरपालिकाको बोलेरो र स्कारपियो गाडी, मालपोत कार्यालयको मोटरसाइकल, जिल्ला प्रशासन कार्यालयको मोटरसाइकल तथा करदाता सेवा कार्यालयको स्कुटर जलेर नष्ट भएको छ। साथै पार्किङमा राखिएका सरसफाइका गाडी र दमकलमा समेत तोडफोड भएको छ ।
जनप्रतिनिधि तथा स्थानीय नेताहरूका घरमा समेत तोडफोड र आगजनी भएको छ। कमलामाई नगरपालिका प्रमुख तथा नेपाली कांग्रेसका सभापति उपेन्द्रकुमार पोखरेलको पुर्ख्यौली घरमा गरगहनासहित नगद तथा सामग्री लुटिएको र गोठमा रहेका गाई जलेर घाइते भएको छ।
नेकपा (एमाले) का अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरे र लेखनाथ दाहाल, प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन र पूर्व मेयर खड्ग खत्रीका घरमा पनि तोडफोड भएको छ।













प्रतिक्रिया दिनुहोस्