काठमाडौं, भदौ ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण लगत्तै डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको बक्यौता रकम असुल्ने निर्णय गर्नुभएको छ ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले पदबहालीको पहिलो निर्णयकै रूपमा यस विषयलाई अघि सारेको जानकारी दिनुभयो । मन्त्री घिसिङले भन्नुभयो, ‘आजको यस पदबहालीको पहिलो निर्णय डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलको जुन बक्यौता छ, त्यो रकम असुल्ने निर्णय भएको छ ।’
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि उहाँले यो बक्यौता असुल्न प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले रोक लगाएपछि त्यसबेला सफल हुन सकेकाे थिएन ।
अब कुनै निकाय वा व्यक्तिले अनियमितता वा भ्रष्टाचार गरेको पाइएको खण्डमा कडा भन्दा कडा कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभएकाे छ । उ भ्रष्टाचार नियन्त्रणलाई आफूले जीवन–मरणको विषयको रूपमा लिएको उहाँले बताउनुभयाे ।
मन्त्री घिसिङले आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा पनि गर्नुभयो । उहाँले सो कोषमा रकम जम्मा गर्न नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूलाई समेत आह्वान गर्नुभयो । कोषसम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्ले गर्ने जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउनुपर्नेछ, आक्रोशका कारण क्षति भयाे, तर अब पुनर्निर्माण गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’













प्रतिक्रिया दिनुहोस्