रामेछाप, भदौ ३० । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा कार्यरत पत्रकारलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सञ्चालक तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिको अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेकाे निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘चिकित्सालयले दिने सशुल्क औषधि बाहेक अन्य सबै उपचार सेवा पत्रकारका लागि निःशुल्क हुनेछ ।’
उहाँका अनुसार वाग्मती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई स्वास्थ्य बीमा लगायतका सुविधा उपलब्ध गराइरहेको अवस्थामा रामेछापका पत्रकारलाई थप सुविधा स्वरूप चिकित्सालयले यस्तो निर्णय गरेको हो ।
निःशुल्क उपचार सेवाको लागि चिकित्सालयले दायरा ताेकेकाे छ । उहाँले भन्नुभयो, ‘नेपाल पत्रकार महासंघ रामेछापको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता भएका सञ्चारमाध्यमको परिचयपत्र रहेका पत्रकारलाई निःशुल्क उपचार सेवा प्रदान गरिने छ ।’
रामेछापका पत्रकारलाई लक्षित यो पहलले जिल्लामा पत्रकारितामा सक्रिय व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षाको क्षेत्रमा थप सहजता दिने विश्वास गरिएको छ । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकारलाई नि:शुल्क स्वास्थ्य सेवा दिन गरेकाे माग अनुसार चिकित्सालयले साे निर्णय गरेकाे हाे ।












प्रतिक्रिया दिनुहोस्