काठमाडौं, असोज १ । जनमत पार्टी आन्तरिक विवादमा फसेकाे छ पार्टीका वरिष्ठ पदाधिकारीसहित नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायत ६ नेताले सामूहिक हस्ताक्षर गरी नेतृत्व परिवर्तनको माग गर्दै पत्र सार्वजनिक गर्नु भएकाे हाे। उहाँहरुले राउतका सहोदर दाजु तथा संगठन विभाग प्रमुख जयकान्त राउतलाई समेत पद छाड्न आग्रह गर्नु भएकाे छ । पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ।’
जेनजी आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको बताउँदै उहाँहरुले यस आन्दोलनले सत्तारूढ गठबन्धन, प्रधानमन्त्री, शीर्ष नेताहरू र प्रतिपक्षका नेतृत्वको अकर्मण्यता र अनियमिततामाथि गम्भीर प्रश्न उठाएको अवस्थामा जनमत पार्टीले पनि ठोस कदम चाल्नुपर्ने माग गर्नु भएकाे छ। पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएपनि पछिल्लो समय शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनाविपरीत गतिविधि देखिएको भन्दै उहाँहरुले आलाेचना गर्नु भएकाे छ ।
जनमत पार्टीभित्रको यस आन्तरिक विवाद सार्वजनिक भएपछि पार्टीको भावी दिशाबारे विभिन्न प्रश्नहरू उठ्न थालेका छन्।














प्रतिक्रिया दिनुहोस्