काठमाडौं, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यतिबेला हामी शोकको घडिमा छौँ तर हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ।’
उहाँले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारका रुपमा व्याख्या गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य निहित रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन, संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ।’
उपाध्यक्ष शाक्यले अहिले पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकारजस्ता राजनीतिक संरचना कायम रहेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा राख्नुभयो।
संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत गर्दै उहाँले भन्नुभयो, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ, संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ।’













प्रतिक्रिया दिनुहोस्