काठमाडौं, असोज ३ । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरीय जीवनस्तर, सरकारका काम–कारबाहीमा पारदर्शिता र सुशासनलाई आत्मसात् गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
संविधान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता प्रश्न सबै पुस्ताका साझा अपेक्षा रहेको उल्लेख गर्दै यस्ता एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाअनुसार काम गर्ने सरकारको अडान स्पष्ट पार्नुभएको हो। प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘सूचना प्रविधिमा भएको विकास र अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणालीबारे जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता प्रश्न हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन्, यस्ता एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ।’
यस्तै, उहाँले शासकीय आकाङ्क्षा बोकेर वा कुनै पदको लोभमा प्रधानमन्त्री नभएको स्पष्ट पार्दै देश संकटमा रहेको संवेदनशील अवस्थामा युवा पुस्ताको अनुरोधका आधारमा सङ्क्रमण व्यवस्थापन गर्ने जिम्मेवारी लिनुभएको उल्लेख गर्नुभयो। उहाँका अनुसार नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्यसहित आफू वर्तमान अन्तरिम सरकारको नेतृत्वमा रहेको बताउनुभयो।
समयसँगै नागरिकका आवश्यकता र आकाङ्क्षा परिवर्तन हुने भएकाले राज्यले पनि त्यसअनुसार क्रियाशील हुँदै सुधारको बाटो समात्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ।संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य र सुशासनजस्ता लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रिन नसक्नु नै वर्तमान अवस्थाको कारण बनेको भन्दै उहाँले जनताको भावना संविधानका अक्षरभन्दा बढी बहुआयामिक हुने तर्क प्रस्तुत गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्