जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार ११:०८

भदाै २३ र २४ काे आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन : प्रचण्ड


काठमाडौं, असोज ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी तथा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको खाँचो औंल्याउनुभएको छ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने बताउनुभयो। उहाँले संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको स्पष्ट पार्नुभयो।

अध्यक्ष दाहालले जनआन्दोलनदेखि जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन माग गरेको टिप्पणी गर्नुभयो। देशको वर्तमान प्राथमिकता भनेको पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले यसलाई सबैभन्दा उच्च एजेन्डा बनाउनुपर्नेमा जोड दिनुभयो।

‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीविरुद्धको आन्दोलन हो,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन, भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो।’