रामेछाप, असोज ३ । संविधान दिवसको अवसरमा नेकपा (एमाले) रामेछापले मन्थलीमा र्यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संविधानको रक्षा र मुलुकको स्थिरता तथा राष्ट्रियता सुदृढीकरणका विषयमा जोड दिइएको थियो ।
राष्ट्रिय झण्डा र पार्टीको झण्डासहित प्लेकार्ड बोकेर जुलुस मन्थली बजार परिक्रमा गरेको थियो । त्यसपछि भएको कार्यकर्ता भेला पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता र पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा सम्बोधन गर्दै चौलागाईँले नेपालको शासन व्यवस्थामाथि बाह्य हस्तक्षेप भइरहेको गम्भीर आरोप लगाउनुभयो । उहाँले ‘हामी नेपाल’ नामक ग्रुपमार्फत अमेरिकाले नेपालमा शासनसत्ता नियन्त्रण गर्न खोजेको दाबी गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन अमेरिकाले सक्रिय भूमिका खेलेको बताउनुभयो ।
त्यस्तै, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले भदौ २३ गते बिहान देखिएको आन्दोलनलाई जेन–जी पुस्ताको स्वतःस्फूर्त आन्दोलन भए पनि सोही दिन अपराह्नपछि आन्दोलन अन्य शक्तिद्वारा हाइज्याक भएको दाबी गर्नुभयो । उहाँले प्रहरीले निर्दोष बालबालिकामाथि गोली चलाउन नसक्ने भन्दै नागरिकलाई आतंकित गर्ने घटनाहरूलाई एमालेले सामान्य रुपमा नछाड्ने स्पष्ट पार्नुभयो ।
ढुङ्गेलले नेपाली सेनाले समेत सिंहदरबार र शीतलनिवास जस्ता संवेदनशील संरचनाको सुरक्षा गर्नमा कमजोरी देखाएको आरोप लगाउनुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाबारे एमालेले कठोर हिसाबकिताब खोज्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्कीले अहिले पार्टी र मुलुक गम्भीर सङ्कटको परिस्थितिमा रहेको भन्दै यसलाई पार गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले पनि २३ र २४ गतेका घटनामा अस्थिरता फैलाउने शक्तिहरूको घुसपैठ भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले छानबिनको थालनी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नै गर्न माग गर्नुभयाे । साथै, उहाँले विद्यालय पढ्ने बालबालिकालाई आन्दोलनमा प्रयोग गरिएको भन्दै यसको निन्दा गर्नुभयो ।
त्यसैगरी, पार्टी उपाध्यक्ष होतराज ढकालले कार्यकर्ताबाट उठाइएका विषयलाई केन्द्रीय नेतृत्वसम्म इमानदारीपूर्वक नपुर्याउने प्रवृत्तिले आजको अवस्था आएको भन्दै नेतृत्व सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको निष्कर्षमा, भेलाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै पार्टी, राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर उभिने प्रतिबद्धता जाहेर गरेको नेकपा (एमाले) रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्