जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार २१:०८

भदौ  २३ र २४ गते भएको धनजन क्षतिको छानबिन गर्न एमाले रामेछापको माग 


रामेछाप, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको आयोजनामा सदरमुकाम मन्थलीमा र्‍याली तथा भेला सम्पन्न भएको छ ।

‘संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ भन्ने मूल नारासहित आयोजित भेलाको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले गर्नुभएको थियो भने कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईँकाे प्रमुख आतिथ्यामा भएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव  माधव ढुङ्गेल, केन्द्रीय सदस्य  गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

भेलामा प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको बैठक पछि पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

भेलाले भदौ  २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दिवङ्गत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा भएका हिंसा, आगजनीलगायत घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।

देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्र र राष्ट्रियताको रक्षार्थ सम्पूर्ण देशी–विदेशी दबाब वा प्रभावको सामना गर्दै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता भेलाले व्यक्त गरेको छ । नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको जगमा निर्मित संविधानलाई संसद् विघटनमार्फत खारेज गर्ने नियोजित योजनाको विरुद्ध सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अगाडि बढ्ने सङ्कल्प बैठकले गरेको छ ।

राष्ट्र, राष्ट्रियता, संविधान, लोकतन्त्र र नेकपा (एमाले) माथि भइरहेको षड्यन्त्र र जालझेलबारे नेपाली जनतालाई समयमै जानकारी दिने र सचेत पार्ने निर्णय बैठकले गरेको छ । आम जनता र कार्यकर्ताको भावना अनुरूप पार्टीमा आन्तरिक बहस, छलफल र समीक्षा गरी नयाँ परिवेशअनुसार विधि र प्रणालीमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सकिने बैठकको निष्कर्ष छ। एमाले मात्रै देशको नेतृत्व गर्न सक्षम छ भन्ने विश्वास बैठकले व्यक्त गरेको छ ।

विकसित घटनाक्रमलाई मध्यनजर गर्दै रामेछापका सम्पूर्ण पालिका, वडा, जनसंगठन र पार्टी पंक्तिलाई आ–आफ्नो कार्यक्षेत्रमा पार्टी काम थप सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिने भेलाले निर्णय गरेको छ । संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक लाग्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघसंस्थाहरूलाई बैठकले आह्वान गरेको छ ।