जनता टाइम्स

६ आश्विन २०८२, सोमबार २०:२३

जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्नेछ : जगदीश खरेल 


काठमाडौं, असोज ६ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सोमबार पदभार ग्रहण गर्दै खरेलले ६ महिनाभित्रै परिणाम देखिने गरी आधारभूत काम गर्ने बताउनुभयो । ‘६ महिनाका लागि सञ्चार मन्त्री आएर कुनै कायापलट गर्ने होइन, तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढङ्गले देखिने गरी केही फाउन्डेसनहरू स्थापना गर्नै पर्छ, जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।

उहाँले विपत्तिपछि खरानी टकटक्याएर जीवन र धरोहरको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध सरकार निर्मम छ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन, तर घटाउँदै लैजान सकिन्छ, जनताले पनि सरकार कठोरतापूर्वक काम गरिरहेको छ भन्ने अनुभूति गर्नुपर्छ’, खरेलले भन्नुभयो ।

मन्त्री खरेलले राजनीतिक हस्तक्षेप र चम्चागिरीबाट मुक्त रहेर मात्र स्वतन्त्र रूपमा अघि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो।