जनता टाइम्स

६ आश्विन २०८२, सोमबार २१:४२

जुनसुकै काम गर्दा पनि शहीद र घाइतेको अनुहार मेरो अगाडि आउँछ :  अनीलकुमार सिन्हा


काठमाडौं, असोज ६ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनीलकुमार सिन्हाले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको आहुति खेर नजाने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।

साेमबार  पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले आन्दोलनका क्रममा प्राण गुमाएका र घाइतेकाे बलिदानलाई सार्थक बनाउन आफूले जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयाे । ‘हामीले राजनीतिक स्थायित्व र सुशासनका लागि आन्दोलन गरेका थियौँ, रोजगारीको अभाव र भ्रष्टाचारका कारण धेरैले जीवन गुमाउनु परेको छ, उहाँहरुको देन र आहुति अब खेर जाने छैन भन्ने विश्वास लिएको छु, म जुनसुकै काम गर्दा पनि शहीद र घाइतेको अनुहार मेरो अगाडि आउँछ, यही सम्झनाले मलाई उर्जा दिनेछ’, उहाँले भन्नुभयाे ।

उहाँले युवाका लागि रोजगारी सिर्जना र सीप विकासलाई आफ्नो प्राथमिकतामा राख्ने पनि बताउनुभयाे । ‘उद्योग र अर्थतन्त्र चलाएमान भएन भने युवाले देशभित्र बस्ने वातावरण बन्न सक्दैन, त्यसैले युवाको क्षमता विकास र सीप व्यवस्थापन पहिलो प्राथमिकता हुने छ,  जसको मृत्यु भएको छ-उहाँहरुकाे परिवार, जो घाइते हुनुहुन्छ-उहाँहरुलाई पनि देशमै रहेका उद्योगमा रोजगारी दिन छलफल गर्नेछु’, सिन्हाले भन्नुभयाे ।

मन्त्री सिन्हाले उद्योग क्षेत्र सबल पार्नुपर्ने र त्यसैबाट देशमा रोजगारी र समृद्धिको बाटो खुल्ने बताउनुभयाे ।