जनता टाइम्स

१० आश्विन २०८२, शुक्रबार २२:२३

१८ करोड बिगो मागदाबी गरिएका सुन तस्कर धरौटीमा रिहा


बारा, असोज १० । बारा जिल्ला अदालतले एक जना कुख्यात भारतीय सुन तस्करलाई धरौटीमा छोडन आदेश दिएको छ ।

भन्सार छली गरी २५ किलोभन्दा बढी सुन बरामदमा मुख्य कारोबारी रहेका बिहारका अशोककुमार सिन्हा र नेपाली नागरिक उनकी छोरी निवेदीका सिन्हालाई जिल्ला अदालतले धरौटीमा छोडने आदेश दिएको हो ।

मुलकी फौजदारी कार्यविधि संहिताले ६ महिनाभन्दा बढी कैद सजाय हुने मुद्दामा विदेशी नागरिकलाई धरौटीमा छोडन नहुने व्यवस्था गरे पनि सिन्हाको हकमा यो ब्यवस्था लागू नभएको हो । २०७७ सालको कात्तिक ३ गते पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो ।

भन्सार छली गरेर ल्याइएको ठुलो परिमाणको सुन भेटिएको गणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ फ्ल्याट निवेदीकाको रहेको र सुन उनको बुवा अशोककुमार सिन्हाको रहेको प्रतिवेदनसहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा थप कारबाहीको लागि बुझाएको थियो ।

पर्सा प्रहरीले भन्सार छलीको सुन बरामद गरेर बुझाए पछि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले राजश्व छली र राजश्व अनुसन्धान विभाग ललितपुरले सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दायर गरेको थियो ।

बारा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार अदालतको इजलास नम्बर–१ का न्यायाधीश भोला ढकालको आदेशमा भारतीय नागरिक सिन्हासँग राजश्व चुहावट १५ लाख र उनका छोरी निवेदीका सिन्हासँग पनि १५ लाख धरौटी माग गरी तारेखमा छोडने आदेश भएको छ ।

२५ किलो ३८३ ग्राम सुन बरामद मुद्दामा राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले १८ करोड ६५ लाख बिगो बराबर जरिवाना र कैद सजायको माग गर्दै २०७८ जेठ १३ गते अदालतमा दुबै जनामाथि मुद्दा दायर गरेको थियो । अशोक कुमार सिन्हासँग अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा पनि १५ लाख र निजकी छोरीलाई १० लाख धरौटी तारिखमा छोडने आदेश भएको छ ।

अदालतमा उपस्थित भएर गरेको बयानमा बाबुछोरीले बरामद सुन आफ्नो नभएको दाबी गरेको र अशोक सिन्हा ६५ वर्षभन्दा बढी उमेरको ज्येष्ठ नागरिक बिरामी पनि भएकाले नियमित उपचारमा राख्नुपर्ने भएकाले धरौटीमा छोडिएको न्यायाधीश ढकालको आदेशमा उल्लेख छ ।

भन्सार छली तथा चोरी पैठारी सम्बन्धी कसुर गरि अपराध जन्य कार्य गरि अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणमा कुल बिगो ३४ करोड २४ लाख ३१ हजार कायम गरि सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४को दफा ३० को उपदफा १ बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद माग दाबीसहित राजश्व अनुसन्धान बिभाग ललितपुरले अदालतमा मुद्दा दायर गरेको छ ।