जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १७:५८

केयूको दीक्षान्तमा प्रधानमन्त्री ओलीको अठोट : नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइन्छ


धुलिखेल, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइ छाडने अठोट गर्नुभएको छ । काठमाडौं विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो अठोट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे । प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै निरासाको खेती गर्नेहरुको दिन सकिएको तथ्य पनि राख्नुभयो । ‘हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘हामी केही कारणले आर्थिक रुपमा पछाडि पर्यौं तर अब सधैं पछाडि पर्दैनौं, हिजो पछाडि पर्नका लागि अनेकौं कारणमध्ये शिक्षाको अभाव एउटा थियो,’ प्रधानमनत्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गर्नुभयो । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उहाँले बताउनुभयो । ‘यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको संख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गर्नुभयो ।

सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताउनुभयो । ‘हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो,’ रामनारायणको भनाई थियो । समारोहमा केयूका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो । ‘हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ,’ उपकुलपति माकाजुको भनाई थियो ।

कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् । दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन ।