जनता टाइम्स

७ मंसिर २०७६, शनिबार १७:५७

बाग्लुङबाट प्रचण्डको घोषणा : कालापानी–लिपुलेक–लिम्पियाधुरा जोगाउन जुनसुकै कदम चाल्न तयार छौं


बाग्लुङ, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहलकदमी लिन सरकार र आफ्नो पार्टी तयार रहेको उदघोष गर्नुभएको छ । बाग्लुङको बुत्र्तिबाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो ।

‘मैले राष्ट्रियताको कुरा गरें, नेपालमा सीमा समस्या पुराना समस्याका रुपमा छन, त्यसमध्ये पनि कालापानी र सुस्ताका समस्या अलिक जटिल र गम्भीर प्रकृतिको थियो,’ सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले जसरी कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग सबै भारतको नयाँ नक्सामा देखाइएको छ । हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन । यसका निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन तयार छौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै सरकारले पनि यही कुरा भनेको जानकारी दिनुभयो । ‘सरकारले त्यही कुरा भनेको छ, सरकारले तत्कालै सर्वदलीय र सर्वपक्षीय बैठक डाकेर राष्ट्रिय वातावरण बनाएको छ, पछिल्लो पटक मैले र प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पठाएको पत्रको ड्राफ हेरेका छौं,’ प्रचण्डले भन्नुभयो, ‘हामी राष्ट्रको निम्ति एकतावद्ध छौँ, जनता एकतावद्ध छन्। सबै राजनीतिक दल एकताबद्ध छन ।’

उहाँले धेरै अप्ठेरो परिस्थितिमा पनि जनताले साथ दिएको भन्दै अब पनि जनताको साथ निरन्तर रहने विश्वाससमेत व्यक्त गर्नुभयो । सानो चित्तबाट पार्टी एकता नभएकाले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सभामा सहभागी सबैलाई अध्यक्ष प्रचण्डले आग्रह पनि गर्नुभयो । ‘सानो चित्तबाट पार्टी एकता भएको होइन, राष्ट्रको बृहत्तर हितको निम्ति र जनताको तागत सिर्जना गर्न एकता गरिएको हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँको चुनावी वाम गठबन्धन पनि त्यही एकताको कडीको रुपमा लिएको छु ।’

बाग्लुङ प्रदेशसभामा जनमोर्चाका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्दै अध्यक्ष प्रचण्डले नियम नमान्नेले पार्टीको हित नगर्ने बताउनु भयो । ‘अहिले नेकपा र जनमोर्चाको साझा उम्मेदवार हुनुहुन्छ । नेकपाभित्रका केही साथीले पार्टीको निर्णयको अवज्ञा गरेका छन, नियम नमान्ने हो भने पार्टी भन्ने हुँदैन,’ प्रचण्डको भनाई थियो । नेकपामा एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीमा जोड दिने निर्णय भएकाले पार्टीभित्रका सबै ‘कन्फ्युजन’ साफ भएको घोषणा पनि प्रचण्डले गर्नुभयो । ‘पार्टीका एक अध्यक्षले सरकारमा जोड दिने, अर्कोले पार्टीमा जोड दिने निर्णय भइसकेको छ, अब कहीँकतै ‘कन्फ्युजन’ छैन, बाटो साफ भएको छ,’ प्रचण्डको भनाई थियो ।