काठमाडौं, असोज ३० । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहनुभएका जसपा सांसद सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा÷दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेर हिनामिना गरेको अभियोगमा सांसद सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६,५७,७०० बिगो मागदाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।
त्यस्तै उपभोक्ता समितिको अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेसँग १ लाख ५० हजार, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सांसद सिंहले मधेस प्रदेश, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेस प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं. ४(ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु संचालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरु देवी माहारानी सौन्दर्यकरण उपभोक्ता समिति, मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति, मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर –५, कन्चनपुरबाट कमिसन लिएको देखिएको अख्तियारको भनाई छ ।
त्यस्तै माइस्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समिति, रामगोपालपुर न.पा.वडा नं. ८, हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं. ७ सहसौलासम्म साथै अनहेरभाट स्थान देखि जनता प्रा.बि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गा.पा. ४, गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति,, मनराशिसवा न.पा.वडा नं. ७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर न.पा वडा नं. ४“ को लागि विनियोजन भई सो उपभोक्ता समितिहरूको नाममा साबिकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लि. मा रहेको खातामा जम्मा भएको कूल रकम रू.१,३६,२७,४८१।(एक करोड छत्तीस लाख सत्ताईस हजार चार सय एकासी रुपैयाँ) मध्ये प्रतिवादी सरोज कुमार सिंहले प्रयोग प्रचलन गर्दै गरेको सरोज कुमार सिंह र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा सोही बैंकमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा रु.३८,५०,३१९।– (अड्तीस लाख पचास हजार तीन सय उन्नाइस रुपैयाँ) अर्थात औषतमा २८.२५% (प्रतिशत) को दरले कमिसन लिएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्