काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कालापानी क्षेत्रको बिषयमा पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमाथि लगाउनु भएको आरोपले आफूअचम्मित बनेको बताउनु भएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेर नै कालापानी क्षेत्र भारतमा पारेको गम्भीर र आपत्तिजनक आक्षेप लगाएपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
‘सभापतिले के बोल्नुभयो, मैले सुनेको छैन । कुन सन्दर्भमा भाषणका क्रममा यो विषय उठाउनुभएको हो भन्न सक्दिनँ । तर, प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो । तर, कांग्रेस सभापतिको भनाइ कसरी र किन आयो म अचम्मित छु ,’ कोइरालाले भन्नुभयो । नेता कोइरालाले सभापतिको यस भनाईले सवैलाइृ आश्चर्यमा पारेको पनि बताउनु भयो ।
नेता कोइरालाले सीमा जस्तो बिषयमा देउवाको भनाई मुलुकको हितअनुकुल नभएको पनि प्रष्ट पार्नुभएको छ । ‘सीमाको विषय गम्भीर हो । यो राष्ट्रियतासँग जोडिएको विषय हो । यस्ता विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेतासँग केही सूचना भए प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्छ । बाहिर बोल्ने विषय होइन,’ कोइरालाले भन्नुभयो । उहाँले देउवाको भनाई कांग्रेसको आधिकारिक धारणा हुनै नसक्ने पनि प्रष्ट पार्नुभयो ।
‘पार्टीको केन्द्रीय समिति बैठक बसेको छैन । यो धारणालाई पार्टीको आधिकारिक बनाउन सभापतिले केन्द्रीय कार्यसमिति बैठकमा छलफल गराउनुपर्यो । आधिकारिक धारणा बन्ने कि नबन्ने त्यसपछि निश्चित हुन्छ । तर, लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा कांग्रेसले आधिकारिक धारणा बनाइसकेको छ । यो भूभाग नेपालको हो भनेर कांग्रेसले स्पष्ट भनिसकेको छ । यो विषयलाई कुटनीतिक र राजनीतिक हिसावले अगाडि बढाउनुपर्छ । अर्को उपाय हामीसँग छैन,’ कोइरालाले भन्नुभयो ।
उहाँका अनुसार देउवाले यस बिषयमा बोलेर गल्ती गर्नुभएको छ । ‘सिमाको विषय अन्यन्त संवेदनशील हो । यस्तो विषयलाई उहाँले सार्वजनिक रुपमा यसरी नबोल्दा नै राम्रो हुन्थ्यो । उहाँसँग कुनै सूचना भए पनि नबोलेको भए बेस हुन्थ्यो । गम्भिर विषय भएकाले कुटनीतिक हिसावले नै जानुपर्छ,’ कोइरालाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्