जनता टाइम्स

७ कार्तिक २०८२, शुक्रबार २१:२०

जेनजी आन्दाेलनकाे नाममा भएको हिंसाको प्रभाव : हायात रिजेन्सी बन्द, कर्मचारीलाई दिइयो काममा नआउन सूचना


काठमाडौं, कात्तिक ७ । राजधानीको पाँचतारे होटेल हायात रिजेन्सी काठमाडौंले भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटेल सञ्चालन असम्भव भएको जनाएको छ ।

मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा हस्ताक्षरित सूचना अनुसार तोडफोड र आगजनीका कारण होटेलको संरचना क्षतिग्रस्त भएकाले तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । होटेलले अब मर्मत तथा पुनर्निर्माणको काम सुरु गर्नुपर्ने जनाएको छ ।

होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पूर्ण होटेल नै पूर्ण रूपमा बन्द रहेकोले प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकलाई अर्को सूचना नआएसम्म होटेल परिसरमा उपस्थित नहुन सूचित गरिएको छ । होटेलले यस विषयमा संस्थामा क्रियाशील ट्रेड युनियनसँग छलफल भइसकेको समेत जनाएको छ ।

हायात रिजेन्सी काठमाडाैं (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) ले राजधानीको लक्जरी होटेलमध्ये एकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको थियो । तर भदौमा भएको आन्दोलनका क्रममा होटेल परिसरमा समेत क्षति पुगेपछि हाल व्यावसायिक सेवा पूर्ण रूपमा रोकिएको छ । होटेल बन्द हुँदा कयौँ कर्मचारीहरू बेरोजगार हुने भएका छन् ।