काठमाडौं, मंसिर ८
नेपालको नयाँ नक्सा भन्दै अहिले सामाजिक सञ्जालमा भाइरल छ । अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी भएको हो । यसरी नयाँ नक्सा जारी गर्ने समुह हो, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियान ।
आइतबार पत्रकार सम्मेलन गरेर अभियानले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताउनु भयो । ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं’, उहाले भन्नुभयो । नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको छ ।
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनुभयो । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिनुभयो । उहाले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाउनु भयो । उहाले भन्नुभयो, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।’
प्रतिक्रिया दिनुहोस्