जनता टाइम्स

९ मंसिर २०७६, सोमबार ०५:०६

ग्राण्डी अस्पतालमा चौथो पटक डायलासिस गरेर निवास फर्किए प्रधानमन्त्री, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, मंसिर ९ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा प्रधानमन्त्री ओलीको आइतवार चौथो पटक हेमोडायलासिस गरिएको छ ।

चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नुपर्ने हुन्छ । त्यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको एक चिकित्सकले बताए ।

ग्रान्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डले आइतबार अपराह्न अस्पताल आउनु भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि चौथो पटक डायलासिस भएको छ, उहाँले आराम महसुस गर्नुभएपछि हामीले अस्पतालबाट डिस्चार्ज गरेका छौँ,’ पाण्डेले भन्नुभयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइतबार स्वास्थ्य परीक्षणका साथै डायलासिसपछि बालुवाटार फर्कनुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने सुझाएका छन । ती चिकित्सकहरुका् अनुसार मिर्गौलाले शरीरमा रगत र क्याल्सियम बनाउने तत्वहरू उत्पादन गर्छ । मिर्गौला पूर्णरूपमा फेल भएपछि डायलासिस गरे पनि शरीरमा रगत र क्याल्सियमको मात्रा बढ्दैन । क्याल्सियमको समस्या कमी हुन नदिन र रक्तअल्पताको समस्याबाट जोगिन पनि प्रत्यारोपण उपयुक्त विकल्प हो । डायलासिस त अस्थायी मात्र हो ।

नियमित डायलासिसलाई निरन्तरता दिने कि मिर्गौला प्रत्यारोपण गर्नेमा चिकित्सक परामर्शमै केन्द्रित छन् । प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो । मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस गरिन्छ ।

गत कात्तिक १३ गते प्रधानमन्त्री ओलीको पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस गरिएको थियो

०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उहाँले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उहाँका निजी चिकित्सकश डा. दिब्या सिंह. शाहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहले नियमित डायलासिस गराउने वा प्रत्यारोपणबारे टुंगो लागिनसकेको बताउनु भएको छ । ‘प्रधानमन्त्रीज्यूका लागि जे गर्दा उपयुक्त हुन्छ, त्यही गर्ने हो । अहिले नियमित डायलासिस गरिराखिएको छ । पछि प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ,’ शाहले भन्नुभयो ।