चितवन, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल, दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन कांग्रेस सभापति शेरबहादुर देउवालगायत सवैलाई सुझाव दिनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले सो भनाईको सार्वजनिक रुपमै प्रतिवाद गर्नुभएको हो ।
‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन,’ चितवनको भरतपुर महानगरपालिका १६ मा आज आयोजित उपनिर्वाचनको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने प्रष्ट पार्नुभयो ।
‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं, भारतको एक इन्च पनि चाहिँदैन ।’
अध्यक्ष प्रचण्डले पाँच बर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको जानकारी पनि दिनुभयो । ‘हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्