जनता टाइम्स

९ मंसिर २०७६, सोमबार २०:५७

मेडिकल कलेजलाई सरकारको कडा चेतावनी : शुल्क समायोजन नगरे बुधबारबाट ठगी मुद्दा हाल्ने


काठमाडौं, मंसिर ९

सरकारले मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीबाट लिएको बढी शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरूलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको छ । गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समय सीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न निर्देशन दिएको थियो । फिर्ता नगरेमा बढी लिएको शुल्क समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारबाहीअघि बढाउने निर्णय गरेको थियो ।

यसैविच, विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरू शुल्क समायोजन गर्न तयार भएका छन् । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न तयार भएका हुन् ।

मेडिकल कलेज सञ्चालकहरूले आन्तरिक छलफल गरी मंगलबारसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज सञ्चालकहरूलाई मन्त्रालय बोलाएका थिए । बैठकमा मेडिकल कलेज सञ्चालकहरूले आन्तरिक छलफल गर्नुपर्ने भन्दै लिखित प्रतिबद्धताका लागि मंगलबारसम्मको समय माग गरेका थिए ।

छलफलमा मन्त्री पोखरेलले लिखित रूपमा शुल्क समायोजनको प्रतिबद्धता माग गरेपछि कलेज सञ्चालकले मंगलबार १२ बजेभित्र लिखित सहमति दिने भएका हुन् । कलेजले लिखित सहमति दिएपछि विश्वविद्यालयले शुल्क फिर्ता र समायोजनाका लागि कलेजहरूलाई निर्देशन दिने छ । त्यसपछि विद्यार्थीहरूले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता पाउने बताइएको छ ।