जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ०८:३४

प्रधानमन्त्री मातहतको सम्पत्ति शुद्धीकरण विभागको एक्सन, पूर्व प्रमुख आयुक्तको सम्पत्ति रोक्का


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारमा संलग्न रहेको पाइएमा कसैको अनुहार समेत नहेर्ने उद्घोष गर्नुभएको थियो । उहाले सरकार गठन भएदेखी नै भ्रष्टचार र बेथितिविरुद्ध खुलेर लाग्न निर्देशन समेत दिदै आउनु भएको छ ।

सोही कुरा नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनु भयो । जसको नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो । तर, अहिले सो निर्णयले निक्कै राम्रो काम गर्न थालेको छ । विभागले अख्यितार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो ।

विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूविरुद्ध छानबिन गरिरहेको छ । ‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ प्रधानमन्त्री कार्यालयमा भएको ब्रिफिङमा सहभागी एक अधिकारीले बताए । उनका अनुसार प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावसायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ । स्रोतका अनुसार उनले अवकास पाउने वित्तिकै लाजिम्पाटमा रहेको होटल हिमालय २ अर्बमा किनेको समेत दावी गरेको छ । यद्यपी यसबारेमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

सरकारी सेवामा रहँदा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मामिलामा मात्रै केन्द्रित रहेर यसअघि उनी आफैं प्रमुख रहेको अख्तियारले समेत छुट्टै छानबिन गरिरहेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बस्न्यातले फर्जी मोहीका नाममा बालुवाटार, ललिता निवासको विवादित जग्गा हस्तान्तरण गर्न भूमिका खेलेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गर्ने निश्चित भइसकेको छ ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेसँगै अख्तियारले अकुत आर्जनको विषयमा मुद्दा’ अघि बढाउने सम्बन्धित स्रोतले बतायो । विभागले प्रधानमन्त्री कार्यालयलाई गरेको ब्रिफिङअनुसार बस्न्यातका दाजुभाइको सम्पत्तिमाथिको अनुसन्धान पूरा भइसकेको छ । उनीहरूको सम्पत्ति विवरणका आधारमा बस्न्यातसँग अहिले भएको सम्पत्ति अस्वाभाविक देखिन्छ । ‘पुर्ख्यौली सम्पत्तिको विषयमा पनि अनुसन्धान सकिइसकेको छ,’ स्रोतले भन्यो, ‘उनले सरकारी सेवामा रहँदा तोकिएअनुसारको सुविधाबाट आर्जन गरेकोभन्दा अस्वाभाविक सम्पत्ति फेला परिसकेपछि रोक्का राखिएको हो ।’