जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ०८:५८

खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री स्वयम मैदान उत्रिदै, यस्तो छ कार्यक्रम


 

काठमाडौं,  मंसिर १० । दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन ५ दिन बाकि रहेको छ ।
साग प्रतियोगिता नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुनु भएको छ ।

आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार, प्रज्ञाको सम्बोधनपछि प्रधानमन्त्रीले दशरथ रंगशालाको अवलोकन गर्न कार्यतालिका रहेको छ ।

साग आउन ५ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ । प्रधानमन्त्री ओलीले आजै साग खेलकुदको तयारीबारे पनि जानकारी लिने कार्यक्रम छ ।

आजै साँझ ५ बजे प्रधानमन्त्री अध्यक्ष रहने उच्चस्तरीय निर्देशन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । यो समितिमा साग खेल आयोजना हुने प्रदेशका मुख्यमन्त्रीहरू, युवा तथा खेलकुद मन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख छन् । दुई दशकपछि यही मंसिर १५ गतेबाट नेपालमा साग खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् ।