काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । अचानक पेट दुखेपछि आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्रीको एपेण्डिसाइटिस शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीलाई जनरल वार्डमा सार्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
के हो एपेन्डिस ?
यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ । एपेन्डिसको काम के हो भन्ने निश्चित छैन । कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन् । कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् । एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ । त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन् । यो सामान्य शल्यक्रिया मात्र हो ।
प्रतिक्रिया दिनुहोस्