जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १७:४८

रहेनन वरिष्ठ पत्रकार विनय कसजू


काठमाडौं, मंसिर १० । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको आज दिउँसो निधन भएको हो।

कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुनुहुन्छ। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती हुनुहुन्छ । उहाँले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाउँदै आउनु भएको थियो ।

पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ मा जन्मनुभएका कसजुको बाल्यकाल गुल्मीको रिडीमा बितेको थियो। ग्रामीण पत्रकारिताको विकासमा उहाँको विशेष योगदान छ। उहाँले गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गर्नुभएको थियो ।

सन् १९९६ देखि १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा कसजुले काम गर्नुभएको थियो भने राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गर्नुभएको थियो । नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित कसजूका ५० बढी बाल साहित्यका कृति प्रकाशित छन्।