जनता टाइम्स

२६ कार्तिक २०८२, बुधबार १०:२५

जेनजी आन्दोलनको परिणाम : पाँचतारे होटल हयातले बर्खास्त गर्यो सबै कर्मचारी


काठमाडौं, कात्तिक २६ । राजधानीको बौद्धमा सञ्चालित पाँचतारे होटल हयात रिजेन्सीले सवै कर्मचार बर्खास्त गरेको छ । जेनजी आन्दोलनमा भएको तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा सबै कर्मचारी र मजदुरलाई बिदा दिइएको हो ।

सो होटलमा १ सय ३३ मजदुर कार्यरत रहेका थिए । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुरलाई मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिनुभएको छ ।

उहाँले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको जिकिर गर्नुभएको छ ।

‘भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तरराष्ट्रिय जगतमै होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको छ,’ महाप्रबन्धक आशिषले भन्नुभएको छ ।

सोही कारण होटल बन्द गर्न बाध्य भएको जनाई मजदुर हटाउने निर्णय भएको उहाँको तर्क छ । महाप्रबन्धक आशिष कुमारले भन्नुभएको छ, ‘कोभिड १९ का कारण लामो समय होटल तथा पर्यटन क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको छ ।’

यसअघि सो होटलमा अर्थमन्त्री रामेश्वर खनाल आफै निरीक्षण र अनुगमनमा पुग्नुभएको थियो । जेनजी आन्दोलनमा तोडफोड र आगजनीलगत्तै सो होटलल देशको आर्थिक समृद्धिमाथि आक्रमण निन्दनीय भनेको थियो । होटलका अनुसार तोडफोडपछि होटल पूर्णरुपमा बन्द रहेको र पुनःनिर्माणका लागि एक बर्ष लाग्ने अनुमान गरिएको छ ।