जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार २०:००

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अस्पतालले जारी गर्यो दोस्रो विज्ञप्ति, यस्तो छ पछिल्लो अवस्था (बिज्ञप्तिसहित)


काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आज साँझ ७:३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओलीको आज दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि आज बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सो सेन्टरमा लगिएको थियो । प्रधानमन्त्रीको शल्यक्रिया सफल भएपनि मिडियामा अनेकन समाचार आउन थालेपछि सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठले साँझ बिज्ञप्ती जारी गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो ।

श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्य अवस्था स्थिर रहेको उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६/८/१० गते मंगलबार विबहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ सम्माननीयज्यूको शल्यक्रिया पश्चाल हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ,’ बिज्ञप्तीमा भनिएको छ ।

लामो समयदेखि मृगौलाको उपचारमा रहनुभएका प्रधानमन्त्री ओली आज बिहानदेखि पेटको दुखाई बढेपछि अस्पताल जानुभएको थियो । उहाँलाई अझै केही दिन अस्प्तालमै राखिने चिकित्सकले जानकारी गराइसकेका छन । प्रधानमन्त्री ओलीलाई आजै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।