जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १२:२५

प्रेस चौतारीले भन्यो : केपी ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ


काठमाडौं, कात्तिक २८ । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ ।

नेपाली श्रमजिवी पत्रकारहरूको संगठन प्रेस चौतारीले राष्ट्रियताको सवालमा दृढ रहेकै कारण देशभित्र र देश बाहिर रहेका सवै प्रतिक्रियावादी शक्ति केपी ओलीविरुद्ध लागेकोले विफल पारेको सन्देश दिन पुन: अध्यक्ष बनाउनु पर्ने प्रष्ट मान्यता अगाडी सारेको हो 

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीसहित आज बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा संगठनका अध्यक्ष पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । 

देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीको विकल्प नरहेको चौतारीको निष्कर्ष छ ।

एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमतासहितको नेतृत्व अध्यक्ष ओलीमा नै रहेको चौतारीको निष्कर्ष छ । ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ,’ उहाँले भन्नुभयो ।

उहाँले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न सुझाव दिनुभयो ।

अध्यक्ष पाण्डेले भदौ २३ र २४ गते भएको आन्दोलनलाई प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गर्नुभयो ।