जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १९:४०

उमाकुण्डमा वित्तीय संघीयता, प्राकृतिक स्रोत बाँडफाँड र स्थानीय योजना सम्बन्धी अन्तरक्रिया 


रामेछाप, मंसिर १। उमाकुण्ड गाउँपालिका, प्रीति–रामेछापको आयोजनामा तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, काठमाडौंको सहजीकरणमा ‘वित्तीय संघीयता, प्राकृतिक स्रोत बाँडफाँड तथा स्थानीय योजना’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारकाे अध्यक्षातामा भएकाे कार्यक्रममा प्रमुख प्रशिक्षणकर्ता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुदबहादुर गुरुङले  वित्तीय संघीयता, प्राकृतिक स्रोत बाँडफाँड तथा स्थानीय योजना बारे जानकारी गराउनुभएकाे थियाे ।

अन्तरक्रियामा गुरुङले आयोगमार्फत स्थानीय तहलाई प्रदान गरिने सेवा, स्रोत–साधन वितरणका मापदण्ड, राजस्व साझेदारी, वित्तीय समायोजन तथा स्रोत परिचालन प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिनुभयो। उहाँका अनुसार संघीय संरचनामा स्थानीय तहको वित्तीय क्षमता बढ्दै गएपछि विकास योजना र सेवा प्रवाहको गुणस्तर सुधार हुँदै गएको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उमाकुण्ड गाउँपालिकामा जल, जमिन, खनिज तथा जलविद्युत् (हाइड्रोपावर) राेयलटीको आय निरन्तर बढ्दै गएको बताउनुभयाे । यसले गाउँपालिकाको आर्थिक समृद्धिमा टेवा पुर्याइरहेको उहाँकाे भनाइ छ । उहाँले स्रोत–साधनको वैज्ञानिक उपयोग तथा पारदर्शी वित्तीय व्यवस्थापनले स्थानीय विकासलाई थप गतिशील बनाउने उल्लेख गर्नुभयाे । अझै पिन जलविद्युत आयाेजनाले तिर्नु पर्ने जति राजश्व र सामाजिक उत्तरदायित्वकाे काम प्रतिवद्धता अनुसार नगरेकाे बताउनुभयाे ।

उपाध्यक्ष सावित्री सुनुवारले कार्यक्रममार्फत जनप्रतिनिधि तथा कर्मचारीहरूले वित्तीय संघीयता र स्रोत बाँडफाँडका विषयमा थप स्पष्ट ज्ञान प्राप्त गरेको बताउनुभयो। उहाँका अनुसार योजना निर्माण, बजेट व्यवस्थापन र दीगो विकासका सवालमा स्थानीय तहलाई यस्ता प्रशिक्षण आवश्यक छन्।

कार्यक्रममा आयोगका सदस्य विपिनराज निरौला, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धरेन्द्र भुजेल, वडा नं. १ देखि ७ का वडा अध्यक्षहरू, वडा सचिवहरू, विषयगत शाखाका कर्मचारी, विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति थियो।