जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार १२:१४

पद्मकारा सहकारीद्वारा करोडौं ठगी : पीडित बचतकर्ताले प्रहरीमा बुझाए श्रीमतीलाई, लोग्नेसहित सासु-ससुरा फरार


काठमाडौं, मंसीर ४ । काठमाडौंको गैरीधारामा रहेको पद्मकारा सहकारी संस्थाका सञ्चालक रहेका एकाघरका पारिवारिक सदस्यले सयौँ बचतकर्ताको करोडौँ रकम लिएर फरार भएका छन् । सो सहकारीमा एकैघरका बाबु सन्तोष लामा (९८५१०३२१२२) अध्यक्ष, आमा कल्पना लामा सञ्चालक सदस्य र छोरा सञ्जय लामा (९८५१११०६२०) पनि सञ्चालक सदस्य छन् ।

सहकारीका अध्यक्ष रहेका सन्तोष लामा कुमारी बैङ्कमा पनि केही समय अध्यक्ष हुनुहुन्थ्यो । सहकारीमा बचत गरेको आफ्नो रकम पटक–पटक फिर्ता माग्न जाँदा नपाएपछि पीडितको एउटा समूह कारबाहीका लागि सहकारी विभाग हुँदै प्रहरीलाई गुहारेको सुइँको पाएपछि तीन जना नै फरार भएका हुन ।

सहकारीका जिम्मेवार पदाधिकारी कोही कसैको सम्पर्कमा नरहेपछि पीडित बचतकर्ताले प्रहरीकै स्वीकृतिमा पद्मकारा सहकारीका सञ्चालक सञ्जय लामाकी श्रीमतीलाई आइतबार प्रहरी वृत्त, मालीगाउँको जिम्मा लगाएका थिए । पीडितले प्रहरी कार्यालयमै सञ्चालक सञ्जय लामाको श्रीमतीलाई घेरेर लोग्नेसहित सासू–ससुराको सन्दर्भमा सोधपुछ गर्दा उहाँहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको नाटकीय जवाफ दिँदै आफ्नो यसअघि नै सञ्जयसँग ’डिभोर्स’ भइसकेको बताउनु भएको थियो ।

यद्यपि, कल्पना लामालाई पीडितहरूको समूहद्वारा नियन्त्रणमा पर्दाको बखत पनि सञ्जयकै घरबाट समातिनु भएको थियो । उहाँको बसोबास सासू–ससुरा र श्रीमानसँग एकैघरमा सगोलरुपमै छ । तर, सहकारी ठगीबाट जोगिन यसअघि नै नियोजित रूपमा उनीहरूले कानूनीरुपमा देखावटी पारपाचुके गरेको बुझ्न सकिन्छ । प्रहरी कार्यालयमा झण्डै पचासको हाराहारीमा पीडित बचतकर्ताबाट घेरिँदा र केरकारमा पर्दा पनि सञ्जयसँग ’डिभोर्स’ भएको दाबी गर्ने ती महिला ढुक्कै देखिनुभएको थियो ।

उहाँको मुहारमा देखिएको हाउभाउले विभिन्न व्यक्तिको आडभरोसा छन् भन्ने बुझ्न गाह्रो थिएन । यद्यपि, प्रहरीले सहकारीका सञ्चालकहरू सम्पर्कमा नआउँदासम्म नाटकीय ’डिभोर्स’ भए पनि, कानूनीरुपमा थुन्न नसकिएता पनि दैनिक बिहानदेखि बेलुकीसम्म तारेखमा राखिराख्ने बताएको छ ।

 

उहाँको मुहारमा देखिएको हाउभाउले विभिन्न व्यक्तिको आड भरोसा छन् भन्ने बुझ्न गाह्रो थिएन । यद्यपि, प्रहरीले सहकारीका सञ्चालकहरू सम्पर्कमा नआउँदासम्म नाटकीय ’डिभोर्स’ भए पनि, कानूनीरुपमा थुन्न नसकिएता पनि दैनिक बिहानदेखि बेलुकीसम्म तारेखमा राखिराख्ने बताएको छ ।

मालीगाऊ प्रहरी स्रोतका अनुसार पद्मकारा सहकारीमा प्रारम्भिक जानकारी अनुसार नै पचास करोड बढी पीडितको रकम फसेको देखिन्छ । अनुसन्धानका क्रममा त्यो रकम अर्बकै हाराहारीमा पुग्ने आँकलन गरिएको छ । स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार सहकारीमा जम्मा भएको रकमबाट विभिन्न ठाउँमा घरजग्गा जोडेको र पछिल्लो समय केही स्थानको बेचबिखन गरिसकिएको छ ।

स्रोतका अनुसार सहकारीका सञ्चालक रहेका एकाघरका सदस्य उनीहरूले विदेश भाग्ने योजना बनाएको हुनुपर्छ । अन्यथा जग्गा बिक्री गरेको रकम बचतकर्तालाई थोरै थोरै फिर्ता गरेको भए पनि यस्तो अवस्था आउने थिएन । उनीहरूले सकेसम्म बचतकर्तालाई आशा देखाउँदै झुलाउँदै-भुलाउँदै गरेको देखिन्छ ।

प्रहरीका अनुसार केही पीडित बचतकर्तालाई सहकारीमा भिडभाड नहोस्, हल्लीखल्ली पनि नहोस् भन्ने योजना अनुसार ’फिक्स डिपोजिट’को ’म्याचुएड’ भएको रकम अनुसारको चेक पनि दिइएको छ, तर त्यसरी दिइएको चेक पनि लामो समयदेखि सटही हुन नसकी रहेको पीडितले प्रहरीमा गुनासो गरेका छन् । केही केही पीडितले त चेक बाउन्स पनि गरेको बताइएको छ ।