रामेछाप, मंसिर ४। जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गएको परिस्थितिमा रामेछापका केही किसान व्यावसायिक कृषि उद्यमतर्फ उन्मुख भइरहेका छन्। त्यसैको उदाहरणका रूपमा उमाकुण्ड गाउँपालिकाको हिमाली क्षेत्र बाम्तीका किसान अनन्त खड्का उदाउनुभएकाे छ ।
उमाकुण्ड–२ बाम्तिभण्डरका खड्काले आफ्नाे बाँझो रहेको करिब एक सय रोपनी जमिनमा व्यावसायिक रूपमा किवी खेती विस्तार गर्नुभएको छ। उहाँले ‘अनन्त एग्रोभेट बायोफार्म’ दर्ता गरी १७ सय बोट किवी रोप्नुभएको छ। तीमध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिन थालेका छन्।
फार्ममा रहेको किवी टिप्ने समय आएको भए पनि खड्का अहिले तत्काल बिक्री गर्ने मनसायमा हुनुहुन्न। उहाँले उत्पादनलाई कोल्डस्टोरमा राखी चैतपछि सुरु हुने बेसिजनमा बजार पठाउने योजना बनाउनुभएको छ। ‘यस वर्ष करिब १० हजार किलो किवी उत्पादन हुनेछ, बेसिजनमा बिक्री गर्दा राम्रो मूल्य पाइने अपेक्षा छ,’ उहाँले बताउनुभयो।
खड्काले स्थानीय तह र प्रदेश सरकारको सहयोगमा किवी खेती विस्तार गर्नुभएको हो। उहाँको फार्ममा हालसम्म करिब १ करोड रुपैयाँको लगानी भइसकेको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले स्थानीय तहमा भइरहेको काम बुझ्न गाउँमै आएर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘कुरा गरेर मात्र हुँदैन, उत्पादनका लागि वास्तविक काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
सबै कुरा सरकारले मात्र गर्न नसक्ने भन्दै उहाँले किसानहरूलाई आत्मविश्वासका साथ उत्पादनमा लाग्न आग्रह गर्नुभयो। ‘सरकारले हौसला र टेवा दिन्छ, किसानले उत्पादनमा जुट्नुपर्छ,’ अध्यक्ष सुनुवारले भन्नुभयो।
उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार खड्काको फार्मले बाम्ती क्षेत्रमा किवी खेती प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। ‘उहाँको सफलताले प्रेरित भएर बाम्तीमा धेरै किसान किवी खेतीतर्फ आकर्षित हुनुभएको छ, अब याे वडालाई किवीको पकेट क्षेत्र घोषणा गरेर किवीकाे थप प्रवर्द्धन गर्न आवश्यक छ,’ उहाँले भन्नुभयाे।
उहाँका अनुसार गाउँपालिकाले प्रोत्साहनस्वरूप अनुदानसमेत वितरण गर्दै आएको र यस्ता किसानलाई आगामी दिनमा थप प्रोत्साहन गरिनेछ।













प्रतिक्रिया दिनुहोस्