जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १९:२८

दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका छौं – गृहमन्त्री थापा


काठमाडौं, मंसिर ११ । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताउनु भएको हो । गृह मन्त्री थापाले भन्नुभयो, ‘दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका छौं ।’ अहिले ३५–३५ किलोमिटरको फरकमा सुरक्षा चौकी छ ।

सीमा बचाऊ अभियानले सीमामा चौकी र सुरक्षाकर्मी थप्नुपर्ने, सरकारी कार्यालयबाट विवादित नक्सा हटाएर नयाँ नक्सा राख्नुपर्ने, लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।

यस्तै, अभियानले सुगौली सन्धि अनुसारको नेपालको वास्तविक नक्सा बनाउनुपर्ने, विज्ञ टोली गठन गर्नुपर्ने, प्रधानमन्त्रीतहबाटै वार्ताको पहल सुरु गर्नुपर्नेलगायत सुझाव दिएको छ । अभियानका संयोजक वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वमन्त्री शान्ता मानवी, पूर्वसांसद श्याम श्रेष्ठ, पूर्व सचिव द्वारिकानाथ ढुंगेल, नेता सोनम साथी, पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ, प्रा डा नरेन्द्रराज खनाल लगायत मन्त्रालय पुगेका थिए ।