जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार ०८:२९

ढुक्क हुनुस्, निर्धारित समयमै सकिन्छ धरहरा पुनःनिर्माण ( यस्तो बन्दै छ धरहरा)


 

काठमाडौं, मंसिर १२ । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ ।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो एतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताउनुभएको तियो । हाल सोही अनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माणको कामअन्र्तगत अहिले दोस्रो तलाको ढलान गर्ने तयारी भइरहेको छ भने टावरमुनिको काम सम्पन्न भइसकेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमै काम सक्नेमा कुनै आशङ्का नगरी ढुक्क हुन आग्रह गर्नुभयो । निर्धारण गरेको समयमै काम सक्नका लागि आगामी पुससम्मा ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप काम अघि बढेको प्राधिकरणको दाबी छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

धरहराको १८ औँ तलामा अवलोकलनकक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।

तत्कालका लागि गोश्वारा हुलाक कार्यालय रहेको भवन अन्यत्र सार्र्ने काम भइरहेको र तीन महिनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको पनि पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अहिले गोश्वारा हुलाक कार्यालय रहेको भवन भत्काउने कार्य भइरहेको छ ।