जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १०:०२

नेपालका लागि नेपालीबाट ज्ञानेन्द्र शाही निस्कासित (पत्रसहित)


काठमाडौं, १२ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भन्नुभयो , ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’ नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

‘…११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनै पनि संलग्नता, सहभागिता र समर्थन नरहने तथा नेपालकालागि नेपालीमा निज ज्ञानेन्द्र शाहीको कुनै पनि जिम्मेवारी नरहने व्यवहोरा जानकारी गराइन्छ’, विज्ञप्तीमा भनिएको छ ।

उनका निस्कासन गर्नुको कारण भने खुलाइएको छैन । स्रोतका अनुसार आर्थिक पाटोको विषयमा केही विमति भएपछि शाही र सो अभियानबीच लामो समयदेखी रहदै आएको थियो । जसका कारण पछिल्लो समय शाही सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए ।